‘नेपाल एयरलाइन्स’ किन सधैँ पछाडि?

२०७५ पौष १ गतेबाट नेपाल एयरलाइन्स आन्तरिक उडानको लागि अनलाइन टिकेटिङ सिष्टमको सुरुवात गरेछ । आन्तरिक उडानमा जाने यात्रुले घरैमा बसेर यो सेवा लिन सक्ने कुरा जानकारीमा आयो । सुन्दा सार्है खुशी लाग्यो, हर्षित हुँदै https://domestic.nepalairlines.com  हेरेँ।

धेरै अगाडिदेखि मनमा गडिराको कुरा थियो, भन्छन् नेपाल एयरलाइन्सको फेयर (Fare) सस्तो हुन्छ। हप्तैपिछे यात्रा गरिरख्नु पर्ने मान्छेलाई यो सुलभ हुन जान्छ । अनलाइन त कत्ति खोजें कत्ति । तर कतै भेटिएको थिएन । हिजो त मनै फुरुङ्ग भयो, संसार कै महँगो मध्ये पर्ने बुद्ध, यती एयर अब धेरै चढ्न नपर्ने भयो, आहा!

विगत केहि वर्ष मा नेपालका लगभग सबै वायुसेवा कम्पनिका टिकट सिधै अनलाइन खरिद गर्न सकिन्छ । आफू त अनलाइन जानुपर्छ भन्ने मान्छे, आफैँ न किन्ने कुरै भएन । एक पटक निकै खुल्दुली लागेर नेपाल एयरलाइन्स पुगेको पनि थिएँ।  हैन सिस्टम नै छैन भन्नुभयो । त्यस्तै हो भने हामी बनाइदिन्छम् पनि भने,  कम्तिमा अरू निजी कम्पनिको दाँजोमा पुर्‍याइदिन्छम् पनि भने, हल्का चिन जानेको माथिल्लो लेभलको कर्मचारी हुनुहुन्थ्यो, यो उहाँसँगको अन-अफिसियल कुरा कानी थियो ।

उहाँले भन्नुभएको थियो – ‘तपाईंको कार्यशैली देख्या छु, अन्यको दाँजोमा मात्रै हैन, मौका पाए १ नम्बर मा पुर्‍याइदिनु हुन्छ तपाईंले, तर काम त्यसरी कहाँ हुन्छ र सर! , हजुर अलि काँचै हुनुहुन्छ यो फिल्डमा ।”

त्यो बेला अलिक तात्ने मान्छे म, त्यही माथी काँचो भन्दिनुभयो उहाँले । मनमा गढ्यो, विदेश तिर हामीले बनाएको सिस्टम ठूल्ठूला कम्पनिले चलाउँछन् , यहाँ यिनिहरूलाई नेपालीले सक्दैन, नेपालीले गरेको हुन्न भन्ने नै छ अझै पनि… ।

अलिकति गलत बुझेछु , ‘काँचो’ को मतलव समय बित्दै जाँदा छर्लङ्गै बुझेँ । अझै पनि कहिलेकाँही सरकारी दफ्तर तिर जाँदा त्यही डाइलग खाइराख्छु , रिस चाँहि उठ्दैन, म यस्ता कुरा बुझपचाउने मध्येमा परें ।

ए! नेपाल एयरलाइन्सको सिस्टमको कुरा, सुरुमा त केहि खुलेन, निकै बेर कोसिस गरियो । एस‍्एस‍्एल‍् पनि सेटिङ्ग मिलेको छैन रहेछ , यो त a, b, c, d… हो, यत्ति पनि के गर्‍या होला? जस्तो भयो । त्यै पनि अप्टिमिस्ट मान्छे, सोचेँ अप्लोड – एडाप्ट भैरहेको होला, सिस्टम त हेर्नै पर्‍यो । निकै बेरको मिहिनेत पश्चात् यो तलको फोटो भेटियो, आईटी आन्टरप्रेनियर्स फर नेपाल भन्ने फेसबुक ग्रुपमा । फोटो मै भए पनि हेरेँ । मैले हेरेँ त्यस पछि त के भनू, उराठ लागेर आयो! सिस्टम चलाएँ भन्ने अन्य साथीहरूलाई सोधें – ‘यो यस्तै नै हो ?’ उत्तर आयो ‘हो!’ उफ!…

केहि हप्ताअगाडिको कुरा करिब १२ हजार /प्याक्स्‍को टिकट काटेर सुर्खेत पुगेको थियौं, हामी ३ जना । त्यहाँ उत्सुख भएर अर्को साथीलाई सोधें, हैन हरेक चोटो यत्ति नै तिर्नु पर्ने हो ? उहाँले भन्नु भाथ्यो – ‘नेपाल एयरलाइन्स पनि आउँछ नि यहाँ ।’ अचम्म मान्दै सोधें – ‘तपाईं चढ्नु भाको छ ? छैन, कहाँ सर टिकेट त हामी पाइन्छ र!
सुर्खेत लगाएत अरु धेरै ठाँउमा साथीहरुले कुरा गरेको सुनेको छु – अन्य कुनै निजी एयरलाइन्सले टिकट , खरिद गरिदिएको हुन्छ , फोन मा टिकेट सकी सक्यो भन्ने जानकारी आउँछ भरे जहाज खाली उड्छ, अन्तर्राष्ट्रिय तिर पनि यस्तै छ, आदि इत्यादी ।’

अब उहाँहरूको कुरा कति ठीक, कति बेठीक त्यो त मलाई थाहा भएन । सबै कुरा मन लागेकै भर मा भन्न पनि पाइएन । तर साँच्चै नै त्यस्तै भाको हो भने पनि दु:ख लाग्ने कुरा हो, अचम्म होइन । हिमाल, पहाड , तराई  सबैतिर यस्तै छ ।

कुरा जे सुकै होस्, यत्रो श्रोत-साधन भएको कम्पनि त्यो पनि देशको सम्पत्तिलाई यसरी लावारिस गराउनु हुन्नथ्यो । नेतृत्वले साचैङ्ग नै नेतृत्व गर्नुपर्नेथ्यो । हुन त त्यसो गर्न पनि गाह्रो छ – अलिक जान्ने भएर कसैले काम गर्न खोज्यो भने उसको दुर्गति भएको पनि हामीले देखेका छौँ । सम्भ्वतः यसो नहोस् भनेर पनि केहि नगरिएको होला , तर आँट थिएन भने नेतृत्व न लिएकै बेश हुन्थ्यो । माफ गर्नुहोला ।

करिब ८-१० महिनाअगाडि होला शायद, मुम्बई जाँदा सिनियर क्याप्टेन विजय लामा सरसँग कुरा गरेको थिएँ, प्लेन मै । एयरलाइन्सलाई एक्स्पोजर, मार्केटिङ अटोमेसन चाहिएको छ । यसरी गर्न सकिन्छ भने, उदाहरण दिएँ २-४ वटा ।

‘क्यान यु रेली डु ड्याट?’- भनेर एक्साइट्मेन्ट पोख्नु भाको थियो । प्रपोजल दिनु फोर्वार्ड गर्दिन्छु भन्नु भाको थियो तर मैले पठाइन, आफ्नै कराणहरू थिए । केहि महिनादेखि ट्वीटर तिर अलि अलि इङ्गेज्मेन्ट देखिरा छु, शायद केहि हुँदै होला । तर त्यत्तिले हुँदैन a b c d… मात्रै भयो ।

मेरो पेशा लेख्ने होइन, भावनामा बगेर कहिलेकाँहि लेख्छु । कतै छुटफुट वा काँचो देखिएमा स्विकार्दिनु होला । मेरो उद्देश्य नेपाल एयरलाइन्सलगयात देशमा बिग्रेका जति पनि कुराहरू छन्, सबै  बिस्तारै भएपनि बन्ने बाटोमा लागून भन्ने मात्रै हो र म यो सोचको एउटा प्रतिनिधि पात्र मात्र हुँ युवा । यस्तै जत्था यस्तै नै सोच्छ अचेल पनि!

युवा हो, जोष धेरै हुन्छ, दुर्दर्शी हुँदैन, आज कहाँ भोली कहाँ ठेगान हुँदैन आदि इत्यादी तपाईंलाई पनि युवा अवस्थामा कसैले अवश्य भनेको हुँदो हो, तपाईंको तातो रगत अन्ततः यति चिसो हुनुको सुरुवात शायद यस्तै थियो तर के सही भयो ? भोली, तपाईंको ठाउँमा म हुँला वा अन्य कुनै युवा, यतिक्कै चिसो!  त्यो बेला नेपालको के होला?

आजको युवा नेपाल हाँक्न तयार छ, यहाँ भएका भुलचुक सच्याउन एउटा पुरै जेनेरेसन रेडी पनि छ तर समस्या तपाईं र हामीबीचको सम्पर्क मा छ । हामी तपाईंलाई गाली गर्छौं, तपाईं हामीलाई .. गाली गरेर विकास हुने भए आज हामी सूर्यमै पुगी सक्थ्यौँ, भन्नुहुन्छ नि ?

लोभ-लालच , परिस्थिती वा समस्याका कारण कुनै न कुनै समय मा हामी गल्ती गर्छौ ।

युवालाई डोर चाहिएको छ । पूर्वाग्रहभन्दा माथि, उठौं न हुन्न ? यो युवाले देखेको बाटोमा तपाईंको अनुभव पोख्‍नुस् । कम्तिमा कुनै युवाले केहि राम्रो गर्न खोजेको छ भने उसले कुनै दिन तपाईंले देखेको सपना बाच्न खोजेको छ, जे तपाईंले गर्न सक्नुभएन वा भ्याउनु भएन, त्यो उसले गर्न खोज्दै छ भन्ने सोच्नुस् न।

उसलाई भ्रष्टचारको बिऊ रोप्न सिकाउने होईन, अन्य अवसरको बाटो सिकाउनुस् , सकिन्छ भने आफ्नो अनुभव उसको ऊर्जासँग मिलाउनुस् । युवामा उज्जवल नेपाल देख्नुस्, गाह्रो छ तर युवाशक्ति अथाह छ हामीसँग, नेपाल बन्दैन भनेर अहिले हरेस न खानुस्, कम्तिमा हारको श्रेय आफ्नो टाउकोमा मात्रै न लिनुस्, हामिलाई पनि अवसर दिनुस् ।

समग्रमा नेपाल एयरलाइन्सको नेतृत्व मा यो बिन्ती गर्छु :

सोच बदल्नुस् , एउटा सानो सुरुवात गर्नुस् – निगमलाई लाज मुक्त गर्ने । अघिल्लो वर्ष पत्रिकामा ‘निगमले सबैलाई उछिन्यो’ भन्ने समाचार पढ्दा छाति चौडा पार्ने युवाले तपाईंलाई अवश्य साथ दिन्छ, देश प्रेम जिनमा छ हाम्रो ।

निगमको आर्थिक स्थिती ठीक छैन भने म आफैँ तयार छु निगमलाई चाहिने डिजिटल प्रोडक्ट्स विनाखर्च तयार गरिदिन, अन्य साथीहरू पनि जुटाएर उहाँहरुसँग सल्ला- सुझाव वा अन्य श्रोतको जोहो गर्न र यो सबै समन्वयको जिम्मेवारी लिन ।

यदि तपाईं सोच बदल्न तयार हुनुन्छ भने!

Please follow and like us:

नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य हो ।